झापा, २३ पुसः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव–हात्तीद्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि ल्याउने बताउनुभएको छ । सुदूरपूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा आज सरोकारवालाले बुझाएको १४ बुँदे मागपत्र ग्रहण गर्दै उहाँले मानव—हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने बताउनुभएको हो ।
बिज्ञापन
झापाका मेचीनगर, बुद्धशान्ति र भद्रपुरका पालिका प्रमुखसहित सरोकार भएका सङ्घ संस्था र स्थानीय राजनीतिक दलहरूले हात्ती प्रभावित क्षेत्रको समस्या समाधानका लागि उहाँलाई १४ बुँदे मागपत्र बुझाएका छन् । मागपत्र ग्रहण गर्दै मन्त्री ठकुरीले भन्नुभयो,“मानव र वन्यजन्तुबीच हुने द्वन्द्व समाधानका लागि उपाय खोजिरहेका थियौँ । तपाईहरूले दिनुभएको मागपत्रले अब कसरी जाने भन्ने विषयमा सरकारलाई थप सहज बनाएको छ । कानुनी बाधा अड्चन फुकाएर भए पनि यी माग र सुझावलाई कार्यान्वयन गर्नेछौँ ।”
बिज्ञापन
राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुबाट मानवीय तथा बाली क्षति भएमा १५ दिनभित्र राहत पु¥याउने व्यवस्था रहे पनि निकुञ्ज बाहिर हुने क्षतिबारे भने ढिलाइ हुने गरेको गुनासो आएको भन्दै उहाँले स्थानीय पालिकाबाटै राहत तथा क्षतिपूर्ति वितरण गर्ने मागका सम्बन्धमा सरकारले आवश्यक कानुनी सहजीकरण गर्ने बताउनुभयो ।
झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित सर्वपक्षीय छलफल गरी मानव–हात्तीद्वन्द्व समाधानका लागि १४ बुँदे साझा निष्कर्ष निकालिएको थियो ।
बिज्ञापन
आज सोही विषय समेटिएको मागपत्र मन्त्री ठकुरी र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डललाई हस्तान्तरण गरिएको हो । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले उक्त मागपत्र वाचन गर्दै समस्या समाधानका लागि आग्रह गर्नुभएको थियो ।
यस्तै, नेपाली कांग्रेसका महामन्त्री शर्माले झापामा हात्ती प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबीच पहिलो पटक साझा धारणा बनेको उल्लेख गर्दै मानव र हात्तीबीच सहअस्तित्व कायम गर्दै समस्याको समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गरिएको बताउनुभयो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री मण्डलले प्रदेशमा मानव–हात्तीद्वन्द्व सबैभन्दा ठूलो समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले मानवीय र बालीनाली क्षति हुँदा छिटो राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै बालीमा हुने क्षतिको राहत प्रदान गर्न बाली बिमाको लागि योजना निर्माणको काम भइरहेको बताउनुभयो ।
मन्त्री ठकुरीसहितको टोलीले आजै मेचीनगरको बाहुनडाँगीस्थित भारतबाट हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्र र स्थानीय सामुदायिक वनको निरीक्षण गरेको थियो ।
सीमामा तटबन्धन गर्न माग
सङ्घीय सरकार मन्त्री ठकुरी र प्रदेश सरकारका मन्त्री मण्डललाई बुझाएको मागपत्रको पहिलो नम्बरमा सीमा क्षेत्रमा बहुउद्देश्यीय तटबन्धन निर्माण गर्न माग गरिएको छ ।
पूर्वी नेपालको बाहुनडाँगीदेखि कचनकबलसम्म भारतीय सीमाक्षेत्रमा तटबन्धन निर्माण गरिए भारतबाट हन्जामा हात्तीको प्रवेश र नदी कटान रोकिने मागपत्रमा उल्लेख छ । यस्तै, बाली बिमा कार्यक्रम, जैविक करिडोर, हात्तीमैत्री पर्यटन, वैकल्पिक बाली विविधिकरण, सोलार फेन्सिङ, निगरानी युवा समूहलाई सवारीसाधन, हात्तीलाई रेडियो कलर, जङ्गलभित्र हात्तीको आहारमैत्री वृक्षरोपण, स्थानीय तहबाटै राहत वितरण, हात्ती व्यवस्थापनसम्बन्धी छुट्टै कानुन, सचेतना कार्यक्रम, पर्यापर्यटन लगायतका विषयमा अल्पकालीन र दीर्घकालीन समाधानका ठोस् कार्यक्रम अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।






