घोडाघोडी (कैलाली), जातीय छुवाछूत प्रथा अज्ञानताको उपज रहेको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बताउनुभएको छ । सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरेको जातीय छुवाछूतविरुद्धको अन्तक्र्रिया कार्यक्रममा प्रमुुख मियाँले त्यो अज्ञानतालाई हटाउन सबैले सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । सुदूरपश्चिममा अझै जातीय छुवाछूत कायम रहेको बताउँदै उहाँले भन्नुभयो, “विभेद अन्त्यका लागि सबैभन्दा पहिले सकारात्मक सोचको विकास हुुन आवश्यक छ ।”
बिज्ञापन
संसारभरि छुवाछूत अन्त्यको अभियान चलिरहेको बताउँदै उहाँले नेपाली समाजमा पनि त्यो अभियान प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले छुवाछूतविरुद्ध बलियो कानुन रहेकाले त्यसलाई प्रश्रय दिए कानुनको दायरमा सबै आउने स्पष्ट पार्नुभयो ।
बिज्ञापन
कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्ने कानुुन रहेको बताउनुुभयो । विभेद गर्नेलाई दण्ड गर्ने कानुन भए पनि छुवाछूत अझै विद्यमान रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “दण्ड सजायले मात्रै केही हुँदैन भावनात्मक र मानसिक रुपमा हटाउन सक्नुपर्छ ।” नगरप्रमुख रावतले आगामी आवमा जातीय छुवाछूत अन्त्यका लागि विभिन्न कार्यक्रम गर्ने कार्य योजनामा समेटिएको जानकारी दिनुभयो।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घबहादुर साउदले छुवाछूतसम्बन्धी कानुनी व्यवस्थाबारे सहभागीलाई जानकारी गराउनुभएको थियो । उहाँले विभिन्न सङ्घ संस्थासँग मिलेर घरेलु हिंसा र जातीय छुवाछूतविरुद्ध समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो ।
बिज्ञापन
सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिम संयोजक पुष्करराज अवस्थीले छुवाछूत अन्त्यका लागि युवा वर्ग बढी सचेत रहनुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिने बताउनुभयो । अन्य जिल्लामा लागुऔषध, आत्महत्या, छुवाछूत र छाउपडी प्रथालगायतका विषयमा अन्तरकृया गरिने अवस्थीले बताउनुुभयो ।






