काठमाडौँ, २४ चैत : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले इमान्दार र सादगी नेता बोगटीको अभाव भइरहेको बताउनुभयो ।
बिज्ञापन
प्रधानमन्त्री दाहालले भन्नुभयो, “पोष्टबहादुर बोगटी एक इमान्दार नेता हुनुहुन्थ्यो, वहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो । बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्री दाहालले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो ।पार्टीमाउहाँको अभाव खड्किरहन्छ । कार्यक्रममा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेल, प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, नेता पुष्पविक्रम मल्ल, बोगटीका पत्नी राममाया बोगटीलगायतको उपस्थिति थियो





