प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताउनुभएको छ । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति बेहोपरेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरूपमा आफ्ना कुरा राखिने बताउनुभयो ।
बिज्ञापन
जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले अहिलेसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरूपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पार्नुभयो ।
बिज्ञापन
आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर जानुभएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको उहाँको भनाइ छ ।
नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ुक्लाइमेट फन्डु बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारको तर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पार्नुभयो ।
बिज्ञापन
यस्तै प्रधानमन्त्रीले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै उहाँले रुकुम पूर्वको पुथा उत्तरगङ्गा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताउनुभयो ।
क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उहाँले बताउनुभयो ।
नेपालको संविधानमा नै समाजवादउन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र त्यही सङ्कल्पका आधारमा काम शुरु भएको बताउनुभयो । तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटरब्याजीबाट पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिनुभयो ।
यस्तै नागरिकताविहीन नेपालीलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गर्नुभयो । विदेशमा गएका लाखौँ नेपाली युवाको हक अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।
सामाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै उहाँले केही तथ्यसमेत पेस गर्नुभयो । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताउनुभयो ।
सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बाँकी नराखिने बताउनुभयो । फरक एक प्रसङ्गमा प्रधानमन्त्रीले वर्तमान गठनबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा नागरिकका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गर्नुभयो ।






