काठमाडौं – नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरू राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका छन्। उनीहरूले वर्तमान गणतान्त्रिक व्यवस्था असफल भएको दाबी गर्दै राजसंस्था पुनर्स्थापना अपरिहार्य भइसकेको बताएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका अवकाशप्राप्त महासेनानी डा. महेन्द्रजंग शाहले देशलाई सही मार्गमा अघि बढाउन अब राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने बताए। उनले पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाल राज्यलाई अब उनका उत्तराधिकारीहरूलाई जिम्मा दिनुपर्ने तर्क गरे।
“राष्ट्रवाद र राष्ट्रियताको जग बसाल्ने पृथ्वीनारायण शाहको वंशमा अब देशको शासन सत्ता जानुपर्छ। हामीले पृथ्वीनारायण शाहको दिव्योपदेशलाई ‘पृथ्वीपथ’ को रूपमा परिभाषित गरेका छौं,” उनले भने।
उनले गणतान्त्रिक नेताहरू असफल भएकाले देश विश्वकै गरिब राष्ट्रहरूमध्ये एक भएको आरोप लगाए। “हामी राज्यको पुनर्संरचना गर्छौं, राजसंस्थाको पुनर्स्थापना गर्छौं। गणतन्त्रको मूल्यांकन गर्छौं, छानबिन गर्छौं। नेपाललाई सौर्य र साम्यवादको यात्रामा अगाडि बढाउने प्रतिबद्धता जनाउँछौं,” शाहले भने।
यस्तै, नेपाली सेनाका अवकाशप्राप्त जर्नेल डा. प्रेमसिंह बस्नेतले अब प्रजातन्त्र र संवैधानिक राजतन्त्र अनिवार्य भएको दाबी गरे। “यो देशमा अब फक्रिएको प्रजातन्त्र, संवैधानिक राजतन्त्र, र सनातन हिन्दू धर्म चाहिन्छ। हाम्रो धर्म, संस्कृति र देश केही नेताहरूले बेचे,” उनले भने।
अवकाशप्राप्त मेजर थमन बस्नेतले गणतन्त्र आयातित व्यवस्था भएको भन्दै वर्तमान शासकहरूलाई देशको दुर्दशाका लागि दोष दिए। “नेपाललाई माया गर्ने पृथ्वीनारायण शाह र उनका सन्ततीलाई बाइपास गरेर देशको प्रगति सम्भव छैन। राजसंस्थाको पक्षमा आवाज उठाउनु अहिलेको आवश्यकता हो,” उनले भने।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएका यी पूर्वसैनिक अधिकारीहरूले अब नागरिकलाई जागरूक भएर देश बचाउन आह्वान गरेका छन्।





