(काठमाडौं, माघ २३) – एकीकृत दलित मुक्ति मोर्चा नेपालले हालैको एक घटनामा दलित युवामाथि भएको अन्यायपूर्ण व्यवहारको कडा भर्त्सना गरेको छ। मोर्चाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
बिज्ञापन
प्राप्त विवरण अनुसार, सप्तरीको हनुमाननगर नगरपालिकाका एक दलित युवक कुमार राम र सोही नगरपालिकाकी नेहा रोनीयरबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर सामाजिक तथा कानुनी जटिलता सिर्जना गरिएको थियो। घटनापछि, प्रहरी प्रशासनले युवकलाई पक्राउ गर्न खोजेको, गलत आरोप लगाएको तथा समाजमा जातीय विभाजन बढाउने कार्य भएको मोर्चाले जनाएको छ।
बिज्ञापन
मोर्चाका संयोजक दर्शन कुमार नेपालीद्वारा जारी विज्ञप्तिमा मानव अधिकार हनन, सामाजिक भेदभाव तथा जातीय अन्यायविरुद्ध मोर्चाले निरन्तर संघर्ष गर्ने उल्लेख गरिएको छ। जातीय आधारमा प्रेम सम्बन्धलाई अपराधीकरण गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग समेत गरिएको छ।
मोर्चाले सरकार, सुरक्षा निकाय तथा सबै सम्बन्धित पक्षलाई घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन आग्रह गरेको छ। साथै, जातीय सद्भाव तथा सामाजिक न्याय स्थापनाका लागि सशक्त आवाज उठाइने बताइएको छ।






