काठमाडौं (माघ१८)आज मेरो आदरणीय दाजु शहीद भएको १९ वर्ष बितिसके छ। उहाँले वृद्ध आमाबुवा, साना भाइबहिनीलाई छोडेर देश र जनताको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नु भयो । उहाँ नहुँदाको पीडा शब्दमा व्यक्त गर्न सक्दिन, तर उहाँको त्यागले मेरो हृदय सधैं गर्वले उच्च बनाउँछ।
बिज्ञापन
मेरो दाजुजस्तै हजारौँ योद्धाहरुले अन्याय, अत्याचार र सामन्तीका विरुद्ध लड्दै आफ्नो जीवन बलिदान गरे। उहाँहरूले देखेको सपना शोषणविहीन, वर्गविहीन समान, र न्यायपूर्ण समाज बनाउने । तर के त्यो सपना पूरा भयो?
बिज्ञापन
क्रान्ति कुण्ठित पार्नेहरू—तिमीहरूले हिसाब दिनुपर्नेछ !
मेरो दाजुजस्तै सहिदहरूले आफ्नो जीवन आहुति दिएर हाम्रो भविष्य उज्यालो बनाउन खोज्दा, आज क्रान्तिको मार्ग भत्किँदै गएको देख्दा मन कहालीलाग्दो हुन्छ। पार्टीभित्रको गुट-उपगुट, स्वार्थ, र विभाजनले आन्दोलनलाई कमजोर मात्र बनाएको छैन, सहिदहरूको त्यागलाई पनि अपमानित गरिरहेको छ। हिजो शोषणविरुद्ध लडेका हातहरू आज सत्ताको दलालीमा लिप्त छन्।
बिज्ञापन
सहिद परिवारप्रति पनि राज्य र पार्टीको दृष्टिकोणले चोट दिएको छ। हाम्रो हृदयको घाउमा मलम लगाउनुको साटो, उपेक्षा र असमान व्यवहारको सामना गर्नुपरेको छ। सहिद परिवारलाई सम्झनु त परको कुरा, तिनका नाम बेचेर स्वार्थको महल ठड्याउनेहरूलाई लाज लाग्दैन?
अधुरो क्रान्ति—के सहिदको रगत केवल सत्ता चढ्ने भर्याङ थियो?
आज देशमा शासन व्यवस्था फेरियो, तर समाजमा वर्गीय, जातीय र आर्थिक शोषण अझै उखेलिएको छैन। सहिदहरूले देखेको न्यायपूर्ण समाजका सपना केवल सम्झौताका पानामा कैद भए। सत्ता परिवर्तन भयो, तर शोषण प्रणाली त्यस्तै छ। सहिदहरूको त्यागलाई साँचो सम्मान दिन सकिएको छैन।
यो कस्तो विडम्बना! जसका लागि मेराे दाजुले जीवन अर्पिए, तिनै नेताहरू आज कुर्सीमा छन्, ऐश-आराममा छन्, तर सहिद परिवारका घाउमा मलम लगाउने कोही छैन। तिनीहरू सहिद परिवारका फोन उठाउनसमेत लाज मान्छन्। समर्थन नगरे, तिनले किन समर्थन गर्ने भन्ने प्रश्न गर्छन्। के सहिदहरू तिम्रा लागि सत्ता चढ्ने भर्याङ मात्रै थिए? के हामीलाई आश्वासनको विष पिलाएर सधैं टार्न सकिन्छ?
अब चुप लाग्दैनौं, न्याय खोज्छौं!
अब सहिद परिवारहरू चुप लाग्नेवाला छैनन्। हामीले क्रान्ति, पार्टी, देश, परिवर्तन भन्ने नाममा धेरै सह्यौं। अब हामीले प्रश्न उठाउँछौं— किन सहिद परिवार सडकमै बिलाप गर्न बाध्य छन्? किन न्याय माग्दा अपराधी बनाइन्छ? किन तिमीहरू सहिदका नाम बेचेर महल बनाउँदै छौ?
हिजोका क्रान्तिकारी, आजका दलालहरू—सुन्ने हो भने सुन, सहिद परिवार टुलुटुलु हेरिरहने छैन! जसको रगत बगेको छ, तिनको नाममा व्यापार गर्ने खेल अब धेरै दिन टिक्दैन। सहिद परिवारहरू टुट्ने होइन, उठ्ने छन्। क्रान्तिको नाममा सहिद परिवारमाथि भएको यो विश्वासघातलाई इतिहासले माफ गर्ने छैन!
आजको दिन, मेरो दाजुजस्ता सहिदहरूको सम्झनामा म प्रण गर्दछु—उहाँहरूले देखेको समतामूलक र न्यायपूर्ण समाजको निर्माणका लागि संघर्ष जारी राख्नेछु। यो पीडाले मलाई झनै अडिग बनाएको छ। दाजुको बलिदान मेरो प्रेरणा हो, उहाँको सपना मेरो उद्देश्य।
अब समय आयो—सहिद परिवारहरू उठ्नेछन्, न्यायको लागि लड्नेछन्, र सहिदहरूको सपना साकार पार्नेछन्!
✍️ लेखक सहिद ललित बि.क(क.अनुपम)भाइ मान बाहादुर तिरुवा हुन






