‘प्रदेश सरकारका विकासबारे जनतालाई सुसूचित गराउनुपर्ने’
मोरङ, ११ पुसः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले निर्माण गरेका विकासबारे नागरिकलाई सुसूचित गराउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित महासङ्घ कोशी समिति सम्मान तथा नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण समारोहमा उहाँले विधिको शासन र सरकारको कामबारे सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको पक्षमा एक ढिक्का भएर कमल चलाउन सञ्चारकर्मीलाई सुझाव दिनुभयो । मुख्यमन्त्री कार्कीले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा ४८ परियोजना रु १० करोड देखि रु १० अर्ब सम्मको राख्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले प्रदेशका पहाडी क्षेत्रमा विसं २०८५ सम्म निर्माण सम्पन्न हुने चार पदमार्गवाट चार लाख रोजगारी र पहाडबाट पलायन हुने अवस्था नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले ल्याउने प्रेस सम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा दर्ता हुने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले विधेयकमा पत्रकार कल्याणकारी कोष स्थापनालगायत बहुआयामिक उपयोगका विषय समेटिएको जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री कार्कीले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । —





