काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरणका साथै परामर्श प्रदान गरेको हो ।
बिज्ञापन
सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्प्रेरक वक्ता डा तारा प्रसाद गिरी (डा तारा जी) को विशेष उपस्थिति रहेको थियो। अभिमुखीकरण कार्यक्रमको विशेष आकर्षण नै नव आगन्तुक विद्यार्थीहरू हुने भन्दै उनीहरूलाई नै प्रमुख अतिथिको दर्जा कलेजले दिएको थियो। कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी, प्रधानाध्यापक पुरुषोतम महर्जन सहित अन्य प्रशासकहरू, विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरू र कलेजका शिक्षक, शिक्षिका विद्यार्थीहरूको व्यापक उपस्थिति थियो ।
बिज्ञापन
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले एसइई उत्तीर्ण भएकोमा सबै विद्यार्थीलाई बधाई र आगामी िदनहरू शैक्षिक यात्राका लागि शुभकामना दिनुभयाे । आगामी अध्ययनका लागि विद्यार्थीहरूले आफ्नो रुचिको विषय हृदय देखि नै रोजेकाले सबै विद्यार्थी सफल हुन्छन् भन्ने उनको विश्वास थियो । छनोट गरिसकेको विषय कठिन लागेमा वा आफूलाई अर्को विषय अझै उपयुक्त छ भन्ने लागेमा कलेजले केही दिन विषय परिवर्तनका समय दिने उनले उल्लेख गरे। सेन्ट लरेन्समा पढ्न आएका विद्यार्थीले आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि सही कलेजको छनोट गरेको उहाँले भन्न भयाे। कलेजले विद्यार्थीको उज्ज्वल भविष्यका लागि हरेक समय अभिभावकिय भूमिका निर्वाह गर्ने बताएका थिए कलेजमा रहेका विभिन्न क्लबहरूको उदाहरण दिँदै पढाई बाहेक पनि थुप्रै गतिविधि कलेजमा गर्न सकिने र व्यक्तित्व विकास गर्न सकिने बताए । सुवेदीले सेन्ट लरेन्सको बृहत् परिवारमा सबै नव आगन्तुक विद्यार्थीलाई स्वागत गरे।

कार्यक्रममा हाल अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा १२ मा अध्ययनरत छात्रा दिपिका पलले सेन्ट लरेन्समा अध्ययन गरिरहँदाको आफ्नो अनुभव बाँड्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिन्
बिज्ञापन
सबै शिक्षकहरूको प्रतिनिधित्व गर्दै आफ्ना भनाइ राखेका शिक्षक हरिहर चापागाईँले एउटा महत्त्वपूर्ण तह पार गरेका विद्यार्थीहरूलाई अर्को महत्त्वपूर्ण तहमा सफल बनाएर पार गराउने जिम्मेवारी कलेजले लिएको बताए।
आफ्नो प्लस टु छनोटको अनुभव बाँड्न मञ्चमा उक्लिएकी कक्षा ११ मा भर्खरै भर्ना भएकी छात्रा प्रीति पौडेलले अत्यन्तै राम्रो कार्यक्रम मार्फत स्वागत गरेको भन्दै कलेज प्रशासनलाई धन्यवाद दिइन् । आफ्नो उज्ज्वल भविष्यका लागि लामो र सफल इतिहास भएको कलेज छानेको उल्लेख गरेकी उनले सोही मञ्च मार्फत आफूलाई एसइईमा ४ जिपिए ल्याएर उत्तीर्ण गर्न सफल बनाउने विद्यालय र शिक्षकहरूलाई धन्यवाद दिइन् । आफ्नो दिदीले सेन्ट लरेन्स बाटै अध्ययन पुरा गरेको हुँदा आफू कलेज बारे जानकार रहेको र बुझ्न आउँदा त्यहाँको वातावरणले आकर्षित गरेको हुँदा दोस्रो विकल्प नसोची भर्ना गरेको उनले बताइन्। आफ्नो पाइलट बन्ने सपनाको जग सेन्ट लरेन्समै बसाउने भनाई उनले राखिन्।

कार्यक्रममा विशेष प्रस्तुति दिँदै विद्यार्थीलाई उत्प्रेरणा तथा परामर्श प्रदान गरेका उत्प्रेरक वक्ता डा तारा जी ले तारिफयोग्य प्रस्तुति दिएका थिए। उनले विद्यार्थी, अभिभावक, कलेज प्रशासन तथा शिक्षक शिक्षिकाहरूले गर्नु पर्ने र गर्न नहुने कुराहरू बारे अर्थपूर्ण प्रस्तुति दिएका थिए। उनले बालबालिकाहरूलाई तुलना गर्न नहुने, आफ्नो क्षमता पहिचान गरेर त्यही बाटो तिर लाग्न दिनुपर्ने, सिकाइका लागि उपयुक्त वातावरण घरबाटै दिनुपर्ने, अभिभावकको सम्बन्ध सुमधुर हुनुपर्ने लगायतका अभिभावकीय जिम्मेवारी सहित विद्यार्थीले गर्नुपर्ने कुराहरू र सफलताको सूत्र बाँडिरहँदा कार्यक्रम हलले निरन्तर सहमतिको ताली बजाएको थियो। करिब डेढ घण्टा आफ्नो प्रस्तुति दिएका उनले विद्यार्थीहरूमा नयाँ ऊर्जाको सञ्चार गराएका थिए।

कार्यक्रमको बिच बिचमा नेपालको विभिन्न भूगोल र संस्कृतिको प्रतिनिधित्व गर्ने सांस्कृतिक नृत्यहरू राखिएको थियो जसले कार्यक्रमलाई अझै विशेष बनाएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले नयाँ उद्देश्य र उत्प्रेरणा बोकेर देशभर बाट आएका विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा आफू उत्साहित भएको बताए। २८ औँ ब्याच सम्म आइपुग्दा सर्वोत्कृष्ट प्लस टुका रूपमा सेन्ट लरेन्स स्थापित भएको र यो उपलब्धि सबैको मेहनत र सहकार्यले प्राप्त भएको उनले उल्लेख गरे। माध्यमिक शिक्षा परीक्षा पास गरेर आएका विद्यार्थीहरूको अबको यात्रा अझै चुनौतीपूर्ण हुने हुँदा मेहनत गरेर उच्च शिक्षाका लागि आधार बनाउने अठोट लिन उनले विद्यार्थीहरूलाई अपिल गरे। कलेजले प्राप्त गरेको विभिन्न महत्त्वपूर्ण उपलब्धिहरू र पुरस्कारहरूको चर्चा गरेका उनले विद्यार्थीको क्षमता विकास र प्रतिभा प्रस्फुटन गरी प्रगतिको सारथि बन्न सेन्ट लरेन्स तयार रहेको बताए । आजको विश्व सुहाउँदो मानव जनशक्ति उत्पादन गर्ने लक्ष्य कलेजले बोकेको भन्दै विद्यार्थीको भविष्य निर्माणका लागि कलेजले कुनै कसर बाकी नराख्ने उल्लेख गरे।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले कक्षा सुरु हुनुभन्दा अगाडी सफलतापूर्वक प्लस टु तह पार गर्नका लागि विद्यार्थीलाई मार्गदर्शन दिन र उत्प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। पूर्व मेची देखि पश्चिम महाकाली सम्म देशका ७७ वटै जिल्ला बाट आफ्नो उज्ज्वल भविष्यका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई यो निर्णय अति उपयुक्त भएको भन्दै उनले बधाई दिए। कलेजले उनीहरूको अन्तर्निहित प्रतिभाको विकास गर्दै देशलाई योगदान दिन सक्ने जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। सेन्ट लरेन्स एउटा फूलबारी भएको र त्यस फूलबारीमा राम्रो फुल फुल्नका लागि चाहिने राम्रो माटो, माली, उर्वर वातावरण आदि सबै भएका कारण सेन्ट लरेन्स उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए। सेन्ट लरेन्स पढेर आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरू उदाहरणका रूपमा अगाडी नै रहेको भन्दै उनले कलेजले आफ्नो गुणस्तरलाई भोलिको दिनमा पनि कायम राख्ने प्रतिबद्धता उनले व्यक्त गरे। माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनका क्रममा भएका प्राविधिक त्रुटिहरूका कारण धेरै विद्यार्थीहरू समस्यामा परेको भन्दै असन्तुष्टि व्यक्त गरेका उनले सम्बन्धित निकायलाई त्यसप्रति सचेत गराए। सबै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना सहित उनले कार्यक्रम समापन गर्नु भयाे ।






