अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ । डीएसपी पाठकले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा काउन्सिलिङका क्रममा किशोरीले राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएकाे छ । ‘सुरुमा बेहोस हुने समस्या हो भन्दै जिल्ला अस्पताल मंगलसेन पुर्‍याए पनि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो

बिज्ञापन

किशोरी होसमा अाएछछि घटनाबारे सबै कुरा बताएपछि प्रहरीको टोली थप अनुसन्धानका लागि घटनास्थलमै पुगेको थियो । त्यहाँ पुगेका डीएसपी पाठकले घटनास्थलको प्रकृति बताउँदै भने, ‘छाउगोठ बाहिर मकैका बोट पनि भाँचिएका रहेछन ।

बिज्ञापन

पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको थियाे । ‘हाम्रो अनुमानमा किशोरी लगभग १२ घण्टा जति बेहोस भएको देखिन्छ ।

ओसीएमसीमा लगेर काउन्सिलिङ गरेपछि मात्रै उनले घटनाबारे विस्तृतमा बताएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार मामा नाता पर्नेले मुख च्यापेर आक्रमण गर्दै बलात्कार गरेको र त्यतिबेला नजिकै रहेका अरू दुई जनाको आवाज सुने पनि आफूले ठम्याउन नसकेको किशोरीले बताएकी थिइन् ।

बिज्ञापन

घटनाबारे जानकार पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले किशोरी बिहान अबेरसम्म पनि नउठेपछि छाउगोठमा हेर्दा अचेत अवस्थामा भेटिएको तर गाउँका मान्छे कोही नजिक नगएको बताइन् । मंगलबार बिहान १० बजे कार्यपालिकाको बैठक बस्ने तयारी गरिरहेका बेला आफूलाई गाउँकै मान्छेले एक किशोरी छाउगोठमा बेहोस भएको जानकारी दिएपछि बैठक स्थगित गरेर सबै जनप्रतिनिधिसहित घटनास्थलमा पुगेको उनले बताइन् ।

‘सोमबार साँझ छिमेकीको घरमा जन्मदिन मनाउन गएकी रहेछिन् । सबैले नाचगान रमाइलो गरे । सायद उनी त्यताबाट फर्केपछि महिनावारी भइन् र गोठमा गइन् । त्यही मौकामा उनीमाथि यस्तो घटना भएको हुन सक्छ । म घटनास्थल पुग्दासम्म उनी छाउगोठमा बेहोस नै थिइन् ।’ उनले आफूहरू घटनास्थल पुग्दा पनि स्थानीय भने केही थाहा नपाएजसरी चुपचाप बसेको बताइन् । भनिन्, ‘के भएको हो भनेर सोधपुछ गर्दा गाउँका महिला, पुरुष, बुढापाका सबैले पहिले नै बेहोस हुने गर्थिन् । छारे रोग हो भन्ने एकैनासको जवाफ दिए ।’ किशोरीलाई जिल्ला अस्पताल पठाएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको उपस्थितिमा छाउगोठ मंगलबार नै भत्काइएको नगर प्रमुख चलाउनेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel